के वैदिक संस्कृति असान्दर्भिक छ ?

मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव असान्दर्भिक अनि ज्येष्ठ नागरिक भत्ता कसरी सान्दर्भिक ?

के वैदिक संस्कृति असान्दर्भिक छ ?
काेमल नेपाल
बेल्कोटगढी-६, नुवाकोट 
आजमात्रै म धार्मिक पुस्तक पसल भोटाहिटीमा आवश्यक पुस्तक किन्न पुगेँ । त्यही समयमा तीनजना २०/२२ वर्षे युवायुवती पुस्तक खोज्ने क्रममा त्यहीँ छिरे । त्यहाँ पस्नेबित्तिकै उनीहरूको मुखबाट् हठात् वाक्य निस्कियो- छि छि छि! यहाँ कस्तो पुस्तक पसलमा छिरिएछ ? यी पुस्तकहरू त हामीलार्इ के काम ? यसैबीच अर्को साथीले थप्यो- हो त नि अहिलेको समयमा पनि यी पुस्तकहरू सान्दर्भिक छ र ? यस्तो व्यापारको निम्ति उपयुक्त स्थलमा पनि यस्तो पसल राखेर किन अनावश्यक ठाउँ ओगटेको होला ? कुनै समय हिउँदमा दैनिक १७ घण्टासम्म लोडसेडिङ हुने हाम्रो देशलाइ व्यवस्थापकीय सुधार र सक्षम नेतृत्वदायी भूमिकाको बलमा लोडसेडिङमुक्त बनाएर जनप्रिय बन्न पुगेका निवर्तमान नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्बहाली नभएको विषयमा ट्वीटर गरी देशको सर्वोच्च ओहदामा पुगिसकेका माननीयले रोष व्यक्त गर्दै लेख्नुभयो- नेतृत्ववर्गमा रहेकाहरूको परम्परागत सांस्कृतिक अभिमान यसको कारण हो । यही शैक्षिक सत्रको सुरुवातदेखि साधारण विद्यालमा संस्कृत शिक्षा पढाउनको निमित्त पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक तयार पार्यो, त्यसै सन्दर्भमा केही बुद्धिजीवीहरूले आवाज उठाए- वर्तमान समयमा २० वर्षअघि लिइसकेको निर्णयलार्इ पुनः बदल्नु समयसापेक्ष कदम होइन, यसको सट्टा निरक्षरता उन्मूलनतर्फ राज्यको ध्यान किन गएन ? त्यस्तै आफूलार्इ आधुनिक नेपाली संस्कृतिको संवाहक तथा नेतृत्वकर्ता ठान्ने कथित संस्कृतिविद् सञ्चारकर्मीले नेपालमा जातीय विभेदको संरक्षक या कारक परम्परागत वैदिक संस्कृति हो भनेर रेडियोमार्फत् आवाज उठाए । यी त प्रतिनिधि उदाहरणमात्रै हुन्, सामाजिक विभेद, अन्धविश्वास, द्वन्द्व र पछौटेपनको कारण नै हाम्रो परम्परागत वैदिक संस्कृति हो भन्ने ठम्याइपूर्ण अभिव्यक्ति जतासुकै सुनिन्छ, संस्कृतिबारे अनर्गल प्रचारप्रसार अद्यावधि सर्वत्र विद्यमान छ । के साँच्चै नै नैतिकता, सदाचार, इमानदारिता र सुशासनबाट ह्रासोन्मुख देशको यथास्थितिको कारक वर्तमानमा असान्दर्भिक भनिएको परम्परागत वैदिक संस्कृति हो त ?
देशमा मानिस-मानिसबीच विभेदको प्रारम्भ कहिले भयो ? यसका आधार के-के हुन् ? यसले कसरी प्रश्रय पायो ? यसको यथार्थ विश्लेषण तथा खोजी समय आएपछि भविष्यमा अवश्य हुनेछ नै । त्यसको खोजी, संश्लेषणको पक्ष नितान्त अलग छ तर पनि विभेदको कुरा उठ्नेबित्तिकै परम्परागत वैदिक संस्कृतिमाथि चोटिलो लाञ्छना र प्रहार हुने गरेको छ, यो तीतो यथार्थ हो । भाइ फुटे गवाँर लुटे उखानलार्इ सार्थक पारी आपसी सहिष्णुतालार्इ छिन्नभिन्न पार्ने, पराया संस्कृतिको अन्धानुकरण गर्ने र मौलिकतालार्इ निमिट्यान्न पार्ने कार्यमा परचालित केही समूह विभेदको नाममा वैदिक संस्कार, संस्कृति, पहिचानलार्इ लघार्न रात दिन लागि परेको कुरा वर्तमानमा स्पष्ट छ । वैदिक धर्म र संस्कारलार्इ आफूअनुकूल प्रचार गरी दुनो सोझ्याइ लड्डू खानेहरूको आचरणलार्इ मध्यनजर गरी त्यसको स्रोतको रूपमा वैदिक सनातन धर्म र ब्राह्मणवर्ग रहेको भनी अपव्याख्या गर्नेहरू नै आधुनिक तथा सभ्य हुन् भन्ने सोचले अहिले प्रोत्साहन पाएको छ ।
सादा जीवन उच्च विचार लिनु, परम्परागत नीतिनियममा रहनु, र मौलिक संस्कृतिमा रमाउनु र तदनुकूल आचरण गर्नु ‘पुरातनपन्थी हुनु वा अग्रगमनको विरोधी हुनु’ भन्ने छाप हाल प्रायः सबैको मानसपटलमा रहेको देखिन्छ । सबैजसो क्षेत्रमा वैदिक आचरण, दर्शन र संस्कृत शिक्षालार्इ असान्दर्भिक ठान्नेको जमात कम छैन । भौतिकवादी र आधुनिक शिक्षाप्रणालीले ग्रस्त देशको वर्तमान शिक्षानीतिबाट उत्पादित वर्तमान पुस्तालार्इ आफू, आफ्नो पहिचान, आफ्नो परम्परा तथा धर्मसंस्कृतिप्रति यथार्थ जानकारी छैन । एकल परिवारमा हुर्किएका, सभ्य र परिष्कृत संस्कारबाट वञ्चित भएका, सिर्जना र चेतनाभन्दा पनि टाइसुट र मार्कसिट, ए प्लसमा रुमल्लिएका अनि भविष्यमा पराया भूमिमा गर्इ रम्न प्रशिक्षित भएका उनीरूलार्इ यसको महत्ता न परिवारले बुझायो, न त कुनै शिक्षाकेन्द्रले नै । तसर्थ यसलार्इ अनावश्यक भनेर डस्टविनमा फ्याँकिदिन उद्यत बन्ने प्रवृत्ति उनीहरूमा देखा परेको हो । नेपाली माटोअनुकूल चिन्तनभन्दा पनि स्वार्थअनुकूल यस्तो प्रवृत्तिले, हाम्रो र राम्रोभन्दा पनि मेरो भन्ने सोच भएकाहरूलाई बढावा दियो । द्वन्द्वकालमा वैदिक संस्कृति र संस्कृत शिक्षालार्इ सामन्तको संज्ञा दिएर यसप्रति अगाध विश्वास र श्रद्धालार्इ समेत आतङ्कित तबरबाट निमिट्यान्न बनाउने कार्य यसको प्रत्यक्ष प्रमाण हो ।
अवश्य पनि विगतको विरासत बिर्सिने वर्तमानको गन्तव्य अनिश्चित हुनेछ । हुन पनि रूख नै नरोपी कहाँ छहारी मिल्छ र ? अनि चौतारोसंस्कृति आफैँमा कसरी असान्दर्भिक ? कसरी यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः भन्ने मान्यता असान्दर्भिक अनि इन्चोन घोषणा सान्दर्भिक ? वसुधैव कुटुम्बकम्, यत्र विश्वं भत्येकनीडम्, र्इशावास्यमिदं सर्वम्, आत्मवत् सर्वभूतेषु असान्दर्भिक अनि राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी घोषणापत्र कसरी सान्दर्भिक ? मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव असान्दर्भिक अनि ज्येष्ठ नागरिक भत्ता कसरी सान्दर्भिक ? सादा जीवन उच्च विचार असान्दर्भिक अनि आडम्बर र बडप्पन कसरी सान्दर्भिक ? पुत्रं मित्रवदाचरेत् को शिक्षा असान्दर्भिक अनि बालमैत्री अवधारणाका बुँदाहरू कसरी सान्दर्भिक ? स्वदेश, स्वपरम्परा, स्वआचरण असान्दर्भिक अनि पराया विचार, जीवनशैली, भाषा, प्रविधि, प्रयोग कसरी सान्दर्भिक ? खै कहाँ छ नेपाली पहिचान र अपनत्व यही जटिलता वा विरोधाभासबीच वर्तमान परिवेश रुमल्लिएको देखिन्छ ।
 
कणाद प्रतिपादित वैशेषिक दर्शनको परमाणु सिद्धान्तलार्इ बेवास्ता गर्दै डेमोक्रेट्स परमाणु पत्ता लगाउने भन्दै पूज्नु सान्दर्भिक कि असान्दर्भिक ? बुद्ध, व्यास, चाणक्य, कालिदासलार्इ बेवास्ता गर्दै ‎‎‎प्लेटो, अरस्तु र सुकरातको बारम्बार रटान गरिनु सान्दर्भिक कि असान्दर्भिक ? संस्कारको प्राचीन भाषा संस्कृतको भूगोल शब्दको अर्थबाटै पृथ्वी गोलो छ भन्ने स्पष्ट हुँदाहुँदै पाइथागोरसको सिद्धान्त रट्नु कति सान्दर्भिक ? भौतिकशास्त्री एवम् विज्ञानका पिता अल्बर्ट आइन्स्टाइनको धर्मविनाको विज्ञान लङ्गडो, विज्ञानविनाको धर्म अन्धो हुन्छ भन्ने भनाइ अनि विदेशी टी. एस. एलियटको पूर्वीय दार्शनिकहरूको विलक्षणताको तुलनामा महान् युरोपेली दार्शनिकहरू प्रिअभ्यासरत विद्यार्थीजस्ता देखिन्छन् भनाइलार्इ अपवादको रूपमा लिनु सान्दर्भिक कि असान्दर्भिक ?
सहिष्णुता, शान्ति, क्षमता, समता, एकता, श्रद्धा, आत्मीयता र सम्मान सिकाउने शिक्षा नै हाम्रो पहिचान हो, अस्तित्व हो, माटो र मुटुको शिक्षा हो । यही पहिचानबेगर कहाँ हाम्रो अस्तित्व रहला र ? आफ्नो पहिचान र अस्तित्वलार्इ अक्षुण्ण र जीवन्त राख्न पशुपालन परम्परा र कृषि परम्परासँग जोडिएर प्रयुक्त रीतिरिवाजलार्इ मात्रै संकेत गर्ने कल्चर नै हाम्रो संस्कृतिलाई सान्दर्भिक ठान्ने अनि मानवलार्इ सर्वश्रेष्ठ प्राणीको रूपमा सामर्थ्य प्रदान गर्ने वैदिक परम्परालार्इ असान्दर्भिकताको मुकुण्डो लगाउनेहरूको जमात अचेल भेट्न सकिन्छ । आज सन् १९६४ मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारविजेता चार्ल्स एच. टाउञ्जको भारतवर्षका विद्यार्थीले आफ्नो प्राचीन संस्कृतिको मूल्य बुझ्नुपर्छ किनभने जीवन र मूल्यहरूको अर्थ यसैमा अन्तर्निहित छ । म यी दुई कुरालाई अलग गर्न सक्दिनँ, विज्ञान र भारतीय संस्कृतिलाई अलग ठान्दाको परिणाम अत्यन्त हानिकारक हुनेछ भन्ने चिन्तनभित्रको रहस्य खोज्नु नै आजको सान्दर्भिकता हो भन्ने बुझेर पनि बुझ पचाउनु सान्दर्भिक कि असान्दर्भिक ? तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय भनी निराशाको विरुद्ध आशाको किरण सहित उदाउन प्रेरणा दिनु कसरी असान्दर्भिक ? यसको उत्तरको खोजी गर्नु आजको आवश्यकता हो ।
शिक्षाको मुख्य कार्य नै आफूलार्इ चिन्नु हो । अहिले प्रायः सबै युवाहरू आफूलार्इ चिन्न उदासीन छन् । आफूलार्इ सुसम्पन्न ठान्नेहरू पचास कटेपछि, नाताकुटुम्बको साथ टुटेपछि, सबैकिसिमको रवाफबाट शून्य हातमा लागेपछि मात्र स्वत्वको खोजीतर्फ लाग्ने प्रवृत्ति हाम्रो समाजमा देखिन्छ । सबैको ठम्याइ भनेको जोश र जाँगरको समयमा वैदिक संस्कृति, संस्कृत शिक्षा, धोतीपाटा, दौरासुरवाल, मठमन्दिर, सेवासद्भाव, धर्मकर्म गर्नुभनेको समयसापेक्षा आफूलार्इ बुझ्न नसक्नु हो भन्ने देखिछ । उनीहरूको मनमस्तिष्कमा संस्कृत शिक्षा, मौलिक संस्कृति, वेद, पुराण, इतिहास, पूर्वजप्रति कुनै किसिमको आकर्षण छैन र यी भनेको सबैतिरबाट हारेकाहरूले मन बुझाएर काल पर्खिँदा गर्ने चिन्तन हो भन्ने ठम्याइ पाइन्छ । चन्द्रमा र मङ्गल ग्रहमा गर्इ डिनर गर्नुमा सर्वोपरि प्रगति ठान्ने उनीहरूलार्इ आफूभित्रको चेतन तत्त्वभित्रै चन्द्रमा र मङ्गलको सामर्थ्यबोध गराइदिने जाम्बवान् प्रकट हुनु आवश्यक छ । संस्कारले काम्यकर्म र निषिद्धकर्मको रूपमा नीतिनियमको अपेक्षा गर्ने हुँदा त्यो मौलिकताविरोधी वा स्वतन्त्रताको विपक्षी हो भन्ने बुझाइ वर्तमानका अग्रगामीको मस्तिष्कमा गढेको छ ।Buddha figurine
सानो बीजमा विशाल वृक्षको वकालत गर्ने विज्ञानका हिमायतीबीच अदृश्य भगवान्को कुरा गर्दा कपोलकल्पना ठान्नु, वैदिक संस्कृतिको आचरण गर्दा संकुचित बनिने र विशाल आकाशमा पक्षीसरह उड्न नपाइने त्रास हुनु, कणाद, गौतम, कपिल, पतञ्जलि, जैमिनि, व्यास, विश्वामित्रजस्ता प्राचीन वैज्ञानिक ऋषिहरूको तपस्थली नेपालको पहिचान र सिद्धान्त जान्नुमा पछौटेपन देख्नेहरू आज हामीले देखिरहेका छौँ । यसले प्राचीन वाङ्मयको पुस्तकलार्इ कुल्चेर बाइबल बोकेर घर-घरमा पुग्ने प्रवृत्तिले विद्याको तुलना कमाइसँग जोडेको छ । तसर्थ स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः भन्ने चिन्तनप्रति अहिले न कसैको निष्ठा छ न श्रद्धा नै । यसमा अबोध बालबालिकाको उमेर पार परेका युवापुस्ताको कुनै दोष छैन, यसको मूल जरो भनेको देशमा वर्तमानमा लागू गरिएको शिक्षापद्धति हो, आफ्नै शरीरलार्इ नाश गरेर अरुको उपचार गर्ने यस शिक्षानीतिलार्इ अझ सेवामूलक अर्थमा विश्लेषण गर्नु प्रगति, समृद्धि नभएर फगत अधोगतिसवाय के नै हुन सक्छ र ? यो त सुरुवात मात्रै हो, यही प्रवृत्ति सर्वत्र हावी हुने हुँदा देखा पर्ने परिस्थितिबारे कसैको चिन्तन छैन, किनकि यसले हिजो र भोलि अनि ठीक र बेठीकको चेतलार्इ पनि अग्रगमनको मद पिलार्इ नष्ट गरेको छ ।
हरेक व्यक्तिपिच्छे सोच अलग-अलग हुन्छ । संस्कार पनि अलग हुन्छ । तर संस्कारको मुख्य दायित्व विकार हटाउनुमा छ, दोष बढाउनुमा होइन । अझ खास त सही गतिविधिको प्रश्रय दिनुमा छ । यसकै आधारमा व्यक्ति वा समूहको चिन्तनधारको आधारमा फरक सिन्धान्तबीच पनि एकताको भावना प्रादुर्भाव हुन्छ । हुन पनि खासमा व्यक्ति सुसंस्कृत हुन उसको पारिवारिक संस्कार, आचरणले मुख्य भूमिका खेल्छ तर अहिले त संस्कार पनि पराधीन बनेको छ ।
आज हरेक घरमा घरबाट कामको निम्ति वा अध्ययनको लागि विदेश जान्छन् छोराछोरीहरू । जसरी भए पनि मेरो छोराछोरी अमेरिका र बेलायतमा छन् भन्ने बोली सप्रमाण आफन्तसँग सेयर गर्न सके प्रगतिको सगरमाथाको सफल आरोहण भएको ठान्ने अभिभावक सर्वत्र छन् । बाबुनानी परायाको गुलाम हुनुमा शिर ठाडो मान्छन् आमाबाबु । परम्परागत वैदिक संस्कार र संस्कृति अझ भनौँ प्राचीन संस्कृत वाङ्मयको अथाह ज्ञानले आफ्ना सन्ततिलार्इ सुसंस्कृत बनाउनुभन्दा पनि आमाबाबु चातुर्य, छलकपट र मुखमा राम राम बगलीमा छुराको प्रवृत्तिलार्इ श्रेयस्कर ठान्दछन्, जुन कुराको प्रभावबाट अनौपचारिकमात्र नभर्इ औपचारिक शिक्षाकेन्द्रमा पनि परेको छ । यसले नै हाम्रो समाजलार्इ झन् झन् ह्रासोन्मुख गराइरहेको छ ।
जीवनजस्तै संस्कृति पनि अविरल प्रवाहित तथा गतिशील हुन्छ । जसरी वैशाखमा टुसाएको पालुवाले ज्येष्ठको कठोर तापलार्इ सहेर मात्रै वर्षाकालको सिञ्चन पार्इ शारदीय सुगन्धको अनुभव गर्दछ, त्यसरी नै जिन्दगी भूल र प्रयत्नले खारिन्छ र परिष्कृत बन्छ । सुदीर्घ परम्परा हुने संस्कृति अवश्य पनि संस्कृत हुन्छ । 
हाम्रो वैदिक संस्कृतिको कार्य व्यक्तिलार्इ शाश्वत सुख दिलाउनु हो । बुद्धले त्यही सुखको खोजीमा बुद्धत्व प्राप्त गरे । शिवको स्वरूप नै कल्याणमय छ । ऋषिमहर्षिहरू जीवनलार्इ सुखमय बनाउने उपायको खोजीमा आजीवन तत्पर भए । त्यसैले वैदिक संस्कृतिले व्यक्तिलार्इ स्वस्थ, मौलिक, परिष्कृत अझ संस्कृत बनाउन विशेष जोड दिन्छ । वेद, वेदाङ्ग, उपनिषद्, आरण्यक ग्रन्थ, ब्रह्मसूत्र, गीता, महाभारत, रामायणजस्ता ग्रन्थभित्र जीवनपद्धति, शासनपद्धति, अर्थनीत, धर्मनीति विलुप्त छ, वैज्ञानिक चिन्तन अनुस्यूत छ । जीवनभर अत्यावश्यक नीतिनियम, कर्तव्यपरायण र उत्तरदायित्वबारे जानकारी त्यहाँ पाइन्छ । के भौतिकविज्ञानका मोटा किताब छापेर पसल पसलमा बिक्री गर्नु सान्दर्भिक कि ? वैदिक चिन्तनको खोजी र प्रचारप्रसार सान्दर्भिक ?
अहिले राज्यका सबै पक्षमा अनैतिकता र अराजकता मौलाएको छ । राजनीतिक अस्थिरता, आर्थिक कमजोर र अर्धचेतनका कारण इमान र विश्वास नगदमा परिवर्तित छ । आँखाले आँखा देख्दैन भनेझैँ बुद्ध नेपालमा जन्मे, तर त्यसको खोज र अनुसन्धान अन्यत्र हुन्छ । अहिले वैदिक संस्कृतिको नेपालमा संरक्षण गर्ने कार्यमात्रै होइन तिरस्कार गर्ने कार्य भएको छ । कपिल र वेदव्यास चिन्तन अहिले यहाँ इतिहासमा सीमित छ । पराया संस्कृतिमा वैदिक संस्कृतिको अनुशीलन गर्ने क्रम बढेको छ । युरोपका जर्मनी र बेलायतमा संस्कृत विश्वविद्यालय स्थापना हुनु, नर्वेले विद्यालय तहमा संस्कृत पाठ्यक्रम लागू गर्नुजस्तो कार्य यसको प्रत्यक्ष प्रमाण हो । कुनै दिन हाम्रा सन्ततिले वैदिक संस्कृतिको अजस्र स्रोतको रूपमा पनि विदेशी भूमिलार्इ बुझ्नुपर्ने समय नआउला भन्न सकिन्नँ तसर्थ वर्तमानमा वैदिक संस्कृतिविरोधी चिन्तन सान्दर्भिक कि असान्दर्भिक ?
 प्रकृति र संस्कृतिको समष्टिरूप नै जीवन हो । यी आपसमा परिपूरक हुन्छन् । बच्चाको जन्मसँगै भौतिक शरीरको प्राकट्यमात्र नभर्इ ऊसँग सम्बद्ध सांस्कृतिक पहिचान पनि स्वतः जोडिन्छ । धर्तीमा टेकेसँगै बालकको नाता प्राकृतिक पर्यावरणमा मात्र नभर्इ आमाबुबा र आफन्त अनि सांस्कृतिक परिवेशसँग जोडिन्छ । तसर्थ बालक जानी नजानी प्रकृति र संस्कृतिअनुकूल आचरणमा अभ्यस्त बन्दछ । यसलार्इ सिक्न उसलार्इ सहज पनि हुन्छ । माटोसँगको नाता उसमा जसरी गाँसिन्छ, मुटुसँगको नाता पनि त्यसरी नै अटुट रहन्छ नै । वास्तवमा फूल भनेको फूलमात्र नभर्इ सौन्दर्य र सुगन्ध हो, यसबेगर यसको अस्तित्व सम्भव छैन भनेझैँ व्यक्ति पनि व्यक्तिमात्र नभर्इ जीवन्त संस्कृति पनि हो, तसर्थ व्यक्तिगत चरित्र, आचरणमा आउने परिवर्तनले नै सांस्कृतिक पहिचानको आधार निर्क्योल गर्दछ । माटो र मुटु नजोडिएको व्यक्ति कहाँ व्यक्ति बन्न सक्छ र ? त्यसबखत व्यक्तिभित्रको गरिमा के नै बँच्छ र ? प्लाष्टिकको फूलबाट कहाँ सुगन्ध सम्भव छ र ? त्यहाँ कहाँ पुतलीको रौनक अनि पराग देख्न सकिन्छ ? हुन पनि पल्लवविहीन फूल र ढुकढुकीविहीन जीवनमा के नै फरक छ र ? यही माटो र मुटुलार्इ अझ भनौँ श्रद्धा र सम्मानलार्इ जोगाउने हाम्रो वैदिक संस्कृति कसरी असान्दर्भिक ?
komalnepal.kn@gmail.com

तपाईको प्रतिकृया कस्तो छ?

like
12
dislike
0
love
0
funny
2
angry
0
sad
1
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्