श्राद्धको महत्त्व - भाग १

ॐ देवताभ्य : पितृभ्यश्च महायोगिभ्य एव च । नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः ।।

श्राद्धको महत्त्व - भाग १
ज्याे. पं. नारायणप्रसाद दुलाल
ॐ देवताभ्य : पितृभ्यश्च महायोगिभ्य एव च ।
नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः ।।
 
“श्रद्धया दीयते यस्मात् श्राद्ध तेन निगद्य जुन” श्रद्धाले अर्पण गरिन्छ भने त्यही नै श्राद्ध होर “श्राद्ध वा पितृ यज्ञ: स्यात्” अत: श्राद्ध भनेकै पितृ यज्ञ हो । वैदिक ग्रन्थहरूमा मनुष्यको लागि तीन प्रकारको ऋण बताईएको देव ऋण, ऋषि ऋण र पितृ ऋण । आश्विन महिनाको कृष्ण पक्षमा पितृलाई तृप्त गर्नको लागि मृत्युको तिथिमा श्राद्ध गरेर पितृ ऋणबाट मुक्त हुन सकिन्छ र यो श्राद्धमा तर्पण, ब्राहमण भोजन र दानको विशेष विधान रहेको हुन्छ ।
 
एवं श्राद्धं बुधः कुर्यात् पित्र्यं मातामहं तथा ।
श्राद्धैराप्यापिता दद्युस्सर्वान्कामान्पितामहाः ॥
 
विष्णु पुराणमा भनेको छ कि श्राद्धबाट तृप्तभएका पितृगणले शुभाशीष प्रदान गरी समस्त कामना पूरा गरिदिन्छन् । यस लोकमा मनुष्यद्वारा दिईएको हव्य (देवतालाई चढाईने कुरा) वा कव्य (पितृलाई चढाइने कुरा) हृदयदेखिनै चढाउनु श्राद्ध हो र हव्य र कव्य पदार्थ पितृहरू कसरी प्राप्त गर्दछन् ? यो विचारणीय प्रश्न हो ।
 
जो व्यक्ति मृत्युलाई प्राप्त गर्दछन्, उनीहरूले आफ्नो वायुरूपी शरीर प्राप्त गरेर जो जुन आफ्नो पुण्यात्मा भए स्वर्गमा जान्छन् , कोही आफ्नो पाप कर्म गरेको कारण पापको दण्ड भोग्न नर्कमा जान्छन् र कोही आफ्नो कर्मानुसार स्वर्ग तथा नर्कमा सुख या दु:खलाई भोग्न समायावधि पूर्ण गर्न नयाँ शरीर प्राप्त गरेर पृथ्वीमा जन्म लिन्छन् ।
 
जबसम्म पितृ श्राद्धकर्ताको तीन पुस्ता भित्र रहन्छन् तव सम्म पितृ स्वर्ग र नर्कमा पनि भोक, प्यास, जाडो तथा गर्मीको अनुभव लिन सक्दछन् तर सत् कर्म गर्न नसकेको कारणले गर्दा आफ्नो भोक, तिर्खा आदि आफै मेट्न असमर्थ हुन्छन् । त्यसैले श्रृष्टिको आदि कालदेखि नै पितृको निमित्त श्राद्धको विधान प्रारम्भ भयो । देवलोक वा पितृलोकमा स्थित पितृगण श्राद्ध कालमा आफ्नो सूक्ष्म शरीरबाट श्राद्धमा आमन्त्रित ब्राह्मणको शरीरमा स्थित भएर श्राद्धको सूक्ष्म भाग ग्रहण गर्दछन् र पुन: आफ्नो लोकमा फर्कन्छन् । श्राद्ध कालमा पितृ लोकको स्वामी यमले प्रेत तथा पितृहरूलाई श्राद्धको भाग ग्रहण गर्नको लागि वायु रूपमा पृथ्वी लोकमा जाने अनुमति दिन्छन् । तर जो पितृ कुनै योनीमा जन्म लिई सकेको भए उसको भाग सार रूपबाट अग्निष्वात, सोमप, आज्यप, बहिर्पद, रश्मिप, उपहूत, आयन्तुन, श्राद्धभुक् र नान्दीमुख नौ दिव्य पितृ जो नित्य एवं सर्वज्ञ छन् र उनै दिव्य पितृहरू ग्रहण गर्दछन् र जीव जुन शरीरमा हुन्छ त्यहाँ उसलाई शुभाशीष तथा उसैको अनुकूल भोग प्राप्ति गराएर तृप्त गर्दछन् । त्यसैले पहिले दिव्य पितृलाई तर्पण गरिन्छ र पछि आफ्नो पितृको ।
 
यदाहारा भवन्त्येते पितरो यत्र योनिषु ।
तासु तासु तदाहारः श्राद्धन्नेनोपतिष्ठति ॥
यथा गोषु प्रनष्टासु वत्सो विदन्ति मातरम् ।
तथान्नं नेते विप्रो जन्तुर्यत्रावतिष्ठते ॥ (गरुड पुराण)
 
समस्त जीवधारीहरुको कर्म विचारेर मृत्युपछि उसलाई के गति दिने त्यको निर्णय दिव्यपितृ गर्दछन् । जसका अधिष्ठाता यमराज मानिन्छन् । यमराजको गणना पितृहरुमा गरिएको हुन्छ । चित्रगुप्त, मृत्यु, धर्मराज, काव्यवाडनल, सोम, अर्यमा र यमआदि यिनीहररू यस जमातका सदस्य हुन् ।
महाभारतमा भगवान् श्री कृष्णले आफ्नो परिचय दिंदै भनेका छन् :
 
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणामर्यमा चास्मि यमः संयमतामहम् ॥ - गीता
हे धनंजयनागहरूमा म शेषनाग हुँ, जलचरहरुमा म वरुण हुँ, पितृहरुमा म अर्यमा तथा नियमन गर्नेमा म यमराज हुँ । उपरोक्त अर्यमा भनेको पितृहरूका राजा हुन् ।
 
मनुष्य मृत्यु पश्चात आफ्नो कर्मद्वारा जुन योनिमा जन्म लिन्छ उसलाई श्राद्ध अन्न त्यसै योनिको आहारको रूपमा प्राप्त हुने हुन्छ । पितृको निमित्त ब्राह्मणलाई गराईएको भोजन श्राद्धान्नको रूपमा स्वत: उसलाई पुग्ने हुन्छ । श्राद्धमा पितृको नाम, गोत्र र मन्त्र अथवा स्वधा शब्दको उच्चारणले नै प्रापक हुने हुन्छ, जुन पितृ समक्ष सूक्ष्म रूपले हव्य (देवतालाई चढाईने कुरा) वा कव्य (पितृलाई चढाइने कुरा) पुग्ने हुन्छ । यदि पितृमुक्त भई सकेको भए श्राद्धको पुण्य श्राद्धकर्तालाई नै मिल्दछ, व्यर्थ हुँदैन । 
-हाम्राे पात्राेबाट

तपाईको प्रतिकृया कस्तो छ?

like
4
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्