कवि भोग्यप्रसाद भण्डारी– एक चिनारी

यसरी कति शासकै पनि, गुरुका संगतले गुणी बनी ।       जनता बीचको कुरीति यो,      सहसा दास सती प्रथा हट्यो ।।

कवि भोग्यप्रसाद भण्डारी– एक चिनारी
कवि भोग्यप्रसाद भण्डारी– एक चिनारी

अभिमन्यु अभिजित

इटहरी


 जन्म र बाल्यकालः
        उदार हृदयी कवि भोग्यप्रसाद भण्डारी धामर््िाक एवं आध्यात्मिक चिन्तनमा तल्लीन रहन्थे । धार्मिक तथा सामाजिक सेवामा समर्पित कर्मठ समाजसेवी  व्यक्तिका रूपमा परिचित कवि भण्डारीको जन्म वि.संं. १९८६ साल आषाढ १२ गते सोमबारका दिन धनकुटा जिल्लाको  ताङ्खुवा गाउँ विकास समिति, वडा नंबर ०१ स्थित सिधुवा भन्ने ठाउँमा भएको हो । पिता नरपति र माता हरिकला भण्डारीका नौ सन्तानहरूमध्ये दोस्रो सन्तान (माइला छोरा) का रूपमा उनको जन्म भएको देखिन्छ । (गोपालप्रसाद भण्डारीबाट प्राप्त जानकारीअनुसार)
       गहूँगोरो वर्ण, ठूलो अनुहार र मोटो शरीर भएका कवि भण्डारीको बाल्यकाल आफ्नै जन्मथलोमा सुखमय व्यतित भएको पाइन्छ । आमा हरिकलाको मातृवात्सल्य एवं परमपूज्य पिताजीको उचित रेखदेखका साथै दाजु, भाइ, दिदी र बहिनीका बीचमा सुमधुर प्रेमलाई बढाउँदै पारिवारिक स्नेह र ममतामा बडो रमाइलोसँग बतिेको पाइन्छ । समयको तरंगसँगै अध्ययन गर्ने क्रममा पिता नरपति भण्डारीले उत्तरमध्यमासम्म अध्ययन गरेका र हिन्दू वेदान्तदर्शनबाट प्रभावित भई प्रसिद्ध विद्वान् भएका नाताले कवि भण्डारीले पिताजीबाटै अक्षरारम्भ गरेको बुझिन्छ । घरेलु र आनुवंशिक प्रभावले संस्कृत शिक्षामा प्रवेश गर्ने क्रममा औपचारिक रूपमा रुद्री र चण्डीको अध्ययन गरिसकेको बुझिन्छ । (पारिवारिक स्रोतबाट)


 शिक्षा—दीक्षाः
       अध्ययनका सम्बन्धमा आफ्ना पिताबाट अक्षरारम्भ गरी रुद्री र चण्डीको राम्रो अध्ययन गरसिकेका  कवि भण्डारीको पढाई सहज रूपमा सम्पन्न भएको  पाइन्छ । किशोरावस्थादेखि अमरकोश र लघुकौमुदीको राम्रो अध्ययन गरी संस्कृतशिक्षामा जग बसमलेको पाइन्छ  । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि उनी प्रतिभावान् थिए । निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका र पैतृक जायजेथा पनि कम भएका कारणले युवावस्थामा पढाईमा धेरै संघर्ष गर्नुपरेको थियो ।अध्ययनका क्रममा धरान आएपछि स्व.सह–प्रा. छविलाल पोख्रेल र समाजसेवी चन्द्रप्रसाद आचार्यसँगको सम्पर्कबाट विविध समस्या र परिस्थितिसँग सामना गर्दै उनको पढाई अघि बढेको देखिन्छ । करीब ८–९ बर्षको भएपछि समयक्रमसँगै आफ्ना पिताका यजमान चन्द्रप्रसाद आचार्यलाई पुरोहितको सहयोगी आवश्यकता परेको हुनाले चन्द्रप्रसादसित उनी धरान आएको देखिन्छ । धरान रहँदा बस्दा उनले चन्द्रप्रसादको भान्से र अन्य कामहरूसित सहकार्य गरी पढाईलाई गति दिएको  पाइन्छ । 
          धरान बस्दा अध्ययनको क्रममा उनी चन्द्रप्रसादका गाई, भँैसीदुहुने र बक्लौरी खेतीमा जाँदा पनि भान्से समेत गरेको पाइन्छ । पक्कै पनि कडा स्वभावका जमीनदार चन्द्रप्रसादलाइ रिझाई आफू पढ्न निकै कठीन काम थियो तथापि उनी आफ्नो कार्यमा धैर्यका साथ लागि परेका हुनाले उनको नरम र मिजासिलो स्वभावका कारण चन्द्रप्रसादको मन पग्लियो । जसले गर्दा उनले पढाईलार्ई  वातावरण मिलाउँदै लगे । फलस्वरूप२००५ सालमा प्रथमा प्रथम श्रेणीमा उत्तीर्ण गरे । धरान बसी विविध कठिनाईँ झेल्दै २००९ मा सम्पूर्ण मध्यमा तह व्याकरण बिषय लिई पहिलो श्रेणीमा र २०१२ सालमा वाराणसीबाट साहित्य  बिषयमा द्वितीय श्रेणीमा शास्त्री परीक्षा उत्तीर्ण गरेका थिए । यसरी नै २०१३ सालबाट पिण्डेश्वर विद्यापीठमा अध्यापन कार्यमा संलग्न भएपनि अध्ययनलाई पूरा गर्ने क्रममा २०२० सालमा साहित्य बिषयमा आचार्य (स्नातकोत्तर तह) द्वितीय श्रेणीमा उत्तीर्ण गरे । साहित्याचार्यसम्मको उपाधि हासिल गरी आफ्नो औपचारिक अध्ययन पूरा गरेका  थिए । (श्रीमती गोमादेवी भण्डारीबाट प्राप्त जानकारी)


 पेशाः
       जीवनयापनका लागि अंगालिएको मुख्य कामलाई नै पेशा भनिन्छ । कवि भोग्यप्रसाद भण्डारीले विशेषतः प्राध्यापनलाई अबलम्बन गरेका थिए भने फुर्सदमा पुराण वाचक पण्डितको रूपमा समेत ख्याति प्राप्त गरेको पाइन्छ । कवि भण्डारी २०१३ साल साउन २ गतेदेखि नै पिण्डेश्वर संस्कृत महाविद्यालयमा अध्यापन कार्यमा संलग्न भई पठनपाठनको क्रममा उनको इमानदारिताको प्रशंसा भएको पाइन्छ । प्रायः उत्तरमध्यमासम्म व्याकरण पढाउँथे भने शास्त्रीमा साहित्य बिषयमा ‘कादम्बरी’ र ‘नैषधीयचरित’ जस्ता काव्य  पढाउँथे । ४० बर्षसम्मको लामो प्राध्यापन पेशामा आबद्ध हुँदा सबै विद्यार्थीहरू सन्तुष्ट, स्पष्ट हुनुले कुशल प्राध्यापकको परिचय दिलाउँछ । उनले सबैमा समान व्यवहार अपनाउँथे भने विद्यार्थीहरूलाई साथी जस्तो ठान्दथे । अध्यापन पेशाप्रति इमानदारिता र कर्तव्यपरायणतालाई औँल्याउँदै सहकर्मी मित्रहरूले भोले बाबा भने गर्दथे । संस्कृत भाषा साहित्यको सेवा र प्राध्यापन पेशाप्रतिको मूल्यलाई कदर गर्दै त्रि.वि.ले दीर्घसेवा पदक प्रदान गरेको थियो भने वि.सं. २०४७ मा महेन्द्र संस्कृत विश्वविद्यालयले संस्कृत बिषय समितिको सदस्यमा नियुक्त गरेको थियो । 
        संस्कृत शिक्षा र संस्कृत पढाउने गुरुहरूलाई सरकारले भेदभाव गरेकाले अरुको तलबका तुलनामा गुरुहरूको तलबमा निकै फरक पर्दथ्यो । वि.सं. २०१३ सालमा कवि भण्डारी प्राध्यापन पेशामा संलग्न हुँदा उनको मासिक तलब रु. ७५।— मात्र थियो । यसमा २०२४ सालसम्म यो तलब यथावत् रहेको पाइन्छ भने पछि बढेर रु. १५०।— पुग्दा सबै परिवार र स्वयं कवि पनि खुशी भएका थिए ।२०३० सालपछि उपप्राध्यापक पदमा बढूवा भई प्राध्यापन पेशा अझ अघि बढाएको पाइन्छ । नयाँ शिक्षा लागू भएपछि सह–प्राध्यापक पदमा पदोन्नति भई कार्यरत भएको अवस्थामा वि.सं. २०४९ जेठ मसान्तपछि शैक्षिक अवकास पाएपनि २०५१ सालसम्म करार सेवामा रही प्राध्यापन सेवामा संलग्न रहेकाले उनको मुख्य पेशा प्राध्यापन थियो भन्ने पारिवारिक स्रोतबाट प्रस्ट हुन्छ ।
         जीवयापनका क्रममा प्राध्यापन पेशाको अतिरिक्त प्रशस्त पुराण वाचनसमेत गर्दथे, त्यसैले उनलाई वाचस्पति (विशिष्टवाचक) समेत भनिन्छ । आफ्नो जीवनमा सयभन्दा धेर पुराण वाचन गरी कर्मकाण्ड क्षेत्रमा समेत दक्ष मानिएको कुरा परिवार र उनका सहकर्मीहरूबाट बुझिन्छ । संस्कृत शिक्षाका विशिष्ट विद्वान् मानिने भण्डारीलाई भण्डारी परिवारका अनुग्रह र अनुसरणबाट धेरै व्यक्तिहरू शिक्षित, दीक्षित र प्रतिष्ठित भएको र परिवारभित्रै पनि उनीप्रति अगाध श्रद्धा र विश्वास रहेको पाइन्छ  । 
यसरी प्राध्यापन र पुराणवाचन गरी दुई पेशा कवि भण्डारीले अंगालेका थिए  ।


 लेखन, प्रेरणा र प्रभावः
        प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा धेरथोर मात्रामा रहेको हुन्छ । परन्तु समुचित वातावरणको अभावका कारण कसैको प्रतिभा खुम्चिएर सुसुप्त अवस्थामा शिथिल भएको हुन्छ ।अनुकूल वातावरण र अवसर आएमा प्रस्फुटन हुने, मौलाउँने र स्वपरिचित गराउँने क्रियाकलाप गर्न थाल्छ । व्यक्ति प्रतिभाकासाथै प्रभाव पनि जेडिएर आउँछ । कसैको न कसैको आन्तरिक वा बाह्य प्रभाव धेरथोर मात्रामा परेको हुन्छ । कवि भण्डारीलाई सर्वप्रथम आफ्नै बाबा नरपतिको तथा आनुवंशिक प्रभाव परेको देखिन्छ भने अर्कोतर्फ चन्द्र स्ांस्कृत विद्यालयका संस्थापक चन्द्रप्रसाद आचार्यबाट पनि सेवामुखी व्यक्तित्वको प्रभाव परेको देखिन्छ । 
        बाल्यकालको कलिलो उमेरमा धरान आएपछि उनमा सहप्राध्यापक पं. छविलाल पोख्रेलको प्रेरणा र प्रभावले पनि लेखन कार्यमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसरी विभिन्न कोणबाट अध्ययन गर्दा कवि भोग्यप्रसाद भण्डारी पनि लेखनाथीय शैलीबाट प्रभावित भएका हुन् भन्ने देखिन्छ । विविध प्रभाव र प्रेरणा आर्जन गर्ने क्रममा संस्कृत भाषा साहित्यको सेवामा समर्पित भएर साहित्य सिर्जनाको मानसिकताको अभिप्रेरकका रूपमा संस्कृत साहित्यका विशिष्ट प्रतिभाहरू, महाकवि कालीदास, भवभूति, माघ, श्रीहर्ष र पण्डित जगन्नाथको प्रभाव परेको देखिन्छ । यसरी नै भानुभक्त आचार्य र कुलचन्द्र गौतमको पनि यिनमा प्रभाव देन्छि । प्राचीन हिन्दू धार्मिक ग्रन्थहरूको मानवतावादी दृष्टिकोणबाट प्रभावित भई ‘षडानन्दचरित महाकाव्य’को रचना गर्न सफल भएको पाइन्छ  ।  
        यसरी लेखनकला र साहित्यिक गतिविधि एवं स्वाध्ययनबाट सुरु भई अन्तिमसम्म रहेको कुरा थाहा हुन्छ । अन्य बाह्य प्रभावका साथै कवि भण्डारीमा पनि विशेष साहित्यिक प्रभाव रहेको पाइन्छ । नेपाली कविता विधान्तर्गत कवि भण्डारीले फुटकर कविता, खण्डकाव्य हुँदै महाकाव्य जस्तो बृहत् विधाको रचना गर्न सफल हुनाले उनमा साहित्यिक प्रतिभा स्फूर्त रूपमा रहेको पुष्टि हुन्छ । आशुकवित्वका  गुणहरूका कारणले धरानस्थित गीताभवनमा स्वामी ईश्वरानन्दका वाणी तुरुन्तै अनुष्टुप छन्दमा रच्ने कविले अन्य बिषयवस्तुलाई पनि छन्दमा बोलिचालीको भाषा प्रयोग गर्दथे । संस्कृत साहित्यका धुरन्धर पण्डित जगन्नाथको ‘गंगालहरी’ स्तुतिकाव्य र ‘विष्णुमहिम्नस्तोत्र’ नेपालीमा भावानुवादबाट कवि भण्डारीमा धार्मिक तथा आध्यात्मिकताको गहिरो छाप परेको बुझिन्छ । यसरी नै ‘धरान’खण्डकाव्य ‘गेयरामायण’ र ‘षडानन्दचरित’ महाकाव्यको लेखनबाट कवि स्वयं मौलिक वा सहज प्रतिभाबाट समेत लेखनकार्यमा अभिप्रेरित भएकोस्पष्ट  हुन्छ । मूलतः आर्जित ज्ञान तथा प्रस्फुटित प्रतिभाका साथै अन्य साहित्यकार र समाजसेवीबाट प्रभावित भएर कविको लेखनी निरन्तर अन्तिम घडीसम्म अघि बढेको पारिवारिक स्रोतबाट बुझिएको छ । 

सामाजिक जीवनः
      मानिस सामाजिक प्राणी भएकाले समाजमा नै जन्म हुन्छ र समाजमा नै अन्त्य पनि हुन्छ । सामाजिक ऋण मानिसमा हुनाले समाजसेवा गरी जीवन सार्थक बनाउनु अपरिहार्य हुन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक स्वार्थप्रति उत्तरदायी बन्छ भने त्यो महान् हुन्छ र समाजसेवी बन्छ पनि कहलाउँछ । यस्तै समाजसेवी तथा महान् व्यक्तिका रूपमा कवि भोग्यप्रसाद भण्डारीलाई चिनाउन सकिन्छ ।
      धनकुटा जिल्लाको ताङ्खुवा गाउँ वडा नं. २ निवासी अधिकारीकी छोरी ढककुमारीसँग वि.सं. १९९६ मा वैवाहिक जीवनमा आबद्ध भएपछि सामाजिक जीवनको सूत्रपात भएको पाइन्छ । समाजमा रहेर सामाजिक भलाईका निम्ति वि.सं. २०१३ सालमा पिण्डेश्वर विद्यापीठमा अध्यापन कार्यमा संलग्न भई समाजसेवातर्फ उन्मुख भएको   बुझिन्छ । 
      गतिशील समयको बदलिँदो तरंगसँगै मानिसमा आरोह–अवरोहका पलहरू आउने गर्दछन् । समयको छलाङ्सँगै २००८ सालमा प्रथम सन्तानका रूपमा गेपालप्रसाद भण्डारीको जन्म भई मातृवात्सल्यका साथ बाल्यकाल नबित्दै भावीको लेखा वा विधिको विधान भनौँ २०११ सालमा कविकी श्रीमती ढककुमारीको देहावसान भयो । त्यसपछि शोकाकुल बनी समाजमा एक्लै जीवनयापन गर्न गाह्रो भएपछि कवि भण्डारीले २०१२ सालमा धनकुटा जिल्लाको छुम्लिङ्ग गाउँका नेपालकी छोरी गीतादेवीसँग पुनः विवाह गरे । त्यसपछिको गृहस्थी जीवनलाई निरन्तरता दिँदै धार्मिक तथा सामाजिक क्षेत्रहरूमा आबद्ध रही सामाजिक सेवामाठूलो योगदान पु¥याएको पाइन्छ । धर्म, संस्कृति र रीतिरिवाजहरूलाई पहिचान ठान्ने कवि समाजमा धार्मिक, पौराणिक र सांस्कृतिक मर्यादामा कतै कसैबाट आँच आउन नदिन धर्मका माध्ययमबाट सामाजिक चेतना जगाउने बिषयमा अग्रसर तथा क्रियाशील देखिन्छन् । 
      यसरी समाजमा धर्मप्रति आस्थावान मानिसले मात्र सामाजिक मर्यादा सदा कायम राख्न सक्छ भने कवि धर्मका माध्यमबाट सन्देश दिन चाहन्छन् । यसै गरी कवि भण्डारीमा सामाजिक जीवनको आरम्भ हुन गएको पाइन्छ ।
 आर्थिक अवस्थाः
       मानिसलाई व्यक्तिगत तथा सामाजिक रूपमा सबल बनाउन आर्थिक पक्षको विशेष भूमिका रहन्छ । यसरी हेर्दा कवि भण्डारीको घरको आर्थिक स्थिति त्यति बलियो थिएन । घरको आर्थिक अवस्था दुर्बल भएका कारणले गर्दा उनले किशोरावस्थामा शिक्षार्जनका लागि धेरै संघर्ष गर्नुपरेको थियो । समग्रमा कवि भण्डारी निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका हुँदा आर्थिकस्थिति कमजोर थियो भन्न सकिन्छ । 
       सुरुमा उनको आर्थिक पक्ष कमजारे रहेपनि कवि भण्डारीले आफ्नै परिश्रम, मेहनत तथा बाहुबलले अनेक प्रकारका कष्ट सहन गर्दै क्रमशः सुधार गर्दै लगेको देखन्छ । २०१३ सालबाट प्राध्यापन पेशामा आबद्ध भएदेखि उनको आर्थिक पक्ष सबल भएको देखिन्छ । अधयापनका साथै संस्कृत भाषा साहित्यका प्रख्यात विद्वान् र धर्मशास्त्रका ज्ञाता भएको हुनाले गुरुले विभिन्न धार्मिक श्रद्धालुहरूका अनुरोध स्वीकारेरश्रीमद्भागवतका साथ अन्य पुराणहरू वाचन गरी भक्तहरूको मनोकांक्षालाई शान्त पार्दै त्यसका साथमा आर्थिक लाभ ग्रहण गरी घरको आर्थिकस्थितिमा सुधार गर्दथे । यसरी मुख्य रूपमा अध्यापनका साथै पुराणवाचन नै कवि भण्डारीको आर्थिक उन्नतिको श्रोत देखिन्छ ।  (पारिवारिक श्रोतका अनुसार) 
      कवि भण्डारीले घरको आर्थिक अवस्था सुधार्दै लगेपछि उनको आर्थिक स्थिति मध्यमवर्गीय परिवारमा राख्नु उचित हुन्छ । साथै अर्थव्यय भने सन्ततिहरूको लालनपालन र पठनपाठनमा नै भएको देखिन्छ । 

कविको युवावस्थाः
मानिसको वृद्धिर विकासात्मक अवस्थाका मुख्य पाटामा युवावस्था अत्यन्त उर्वर र महत्वपूर्ण अवस्थामा रहेको हुन्छ । यो अवस्थाको गतिविधिलाई मूल्याङ्कन गर्दा भविष्यको पूर्वानुमान गर्न पनि सकिन्छ । युवावस्थामै मानसिक संवेगहरू द्रुतगतिमा अघि बढ्छन् । समयको गति र यौवनको महत्वलाई बुझेर सही रूपले सदुपयोग गर्न सक्यो भने मानिसले समाजमा उन्नति प्रगतिका अमिट छापहरू छोडेर उदाहरणीय व्यक्तिका रूपमा चिनिन्छन् । एवम् रीतले कवि भण्डारीको पनि युवावस्था प्रगतिशील तथा आदर्श देखिन्छ । आफ्ना अग्रज र इष्टमित्रहरूको संगतबाट प्रभावित हुँदै धर्मसेवा, अध्ययन, अध्यापन तथा साहित्य सिर्जनाका साधक बनी समाजसेवा गरेको देखिन्छ । 
        कवि भण्डारी एक कर्मठ र संघर्षशील व्यक्तिका रूपमा चिनिन्छन् । उनको किशोरावस्था विविध समस्याहरूसित जेलिएको थियो । घरमा पारिवारिक दुर्घटनामा पत्नीको मृत्यु, आर्थिक कठिनाई, अध्ययनको मोहले मानसिक चिन्ता आदि हुन पुगेको थियो । युवावस्थाको जोस र जाँगर जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि शिथिल भएन । यसबेला समयको सही सदुपयोग गर्नु बुद्धिमानी हुन्छ भन्ने मान्यतालाई स्वीकार्दै धााार्मिक तथा सामाजिक सेवातर्फ उन्मुख बनी सक्रियताका लागि गरेको पाइन्छ । पुराणका स्पष्ट वक्ता, कुशल वाचस्पति बनी आध्यात्मिक जागरण तथा जनचेतना र विकासका पूर्वाधारहरू तयार गर्ने दिशामा लाग्नाले समाज उपयोगी कार्यमा भण्डारी लागिपरेको प्रमाणित हुन्छ । (गीतादेवी भण्डारीका अनुसार)  
कवि भोग्यप्रसाद भण्डारी युवावस्थालाई विविध कार्यमा व्यस्त राख्दै साहित्य सिर्जनामा उन्मुख भएबाट यो क्षण नै सबैभन्दा सार्थक भएको देखिन्छ । 


प्रकाशित कृतिहरू  ः
      कवि भोग्यप्रसाद भण्डारीको व्रकाशित कृति २०१६ सालमा नेपाल पत्रिकामा छापिएको सेतो शीर्षकको कविता नै हो । यसै बर्ष अर्थात् २०१६ सालदेखि कविता प्रकाशनको थालनी गरेका भण्डारीले विभिन्न समयमा पत्रपत्रिकाहरूमार्फत् आफ्ना लेख तथा रचना गरी प्रकाशन गरेको पाइन्छ । नेपाल, पीपल, स्पन्दन, प्रतिभा आदि पत्रिकाहरूमा उनका रचना प्रकाशित  भइरहन्थे । प्रत्येक बर्ष मनाइने मोती जयन्तीमा पनि कविले कविताहरू सुनाउने गरेको पाइन्छ । खाली समयलाई सदुपयोग गर्ने भण्डारीले निरन्तर लेखिरहेको र लेखिएका कतिपय रचनाहरूप्रकाशन नभई त्यसै फालिएका वा हराउने गरेको पनि बुझिन्छ । यसबाट कविका केही रचनाहरू पाण्डुलिपिमै सीमित भएका पनि बुझिन्छ (गोपालप्रसाद भण्डारीका अनुसार) । गद्य साहित्यमा सकभर कलम नचलाएका कवि भण्डारीले पद्यात्मक विधामा नै रचना  गर्ने गरेका उनका केही कृतिहरू हेर्दा तथा तत्कालीन उनका सहकर्मीहरूबाट बुझिन्छ । समग्रमा कवि भण्डारीका पुस्तकाकार प्रकाशित कृतिहरू निम्नानुसार रहेको पाइन्छ –
१. श्रीविष्णुमहिम्नस्तोत्र र गंगालहरी  (स्तुतिकाव्य—भावानुवाद) वि.सं. २०४१  
२. षडानन्दचरित महाकाव्य २०४३ 
३. गेयरामायण २०५४ 
४. धरान खण्डकाव्य २०५४ 
५. सप्तकोशीको प्रभाह पत्रिकामा तीनवटा कविता प्रकाशित २०४७ 
         यसरी विभिन्न काव्य कृतिहरूको सिर्जना गरेर कवि भण्डारीले नेपाली साहित्य भण्डारमा श्रीवृद्धि गरेको पाइन्छ ।


भण्डारीको कृतित्वको अध्ययन
         कवि भोग्यप्रसाद भण्डारीले बाल्यावस्थादेखि नै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै लगनशील भई जीवनलाई सफल बनाएको देखिन्छ । उनमा परिश्रमबाट व्यक्तित्वको विकास गर्न सकिन्छ भन्ने धारणा थियो । यो धारणालाई आत्मसात्् गर्दै सानै उमेरमा उनी धरान आएका थिए । धरानमा विभिन्न प्रकारका कठिनाईहरूसँग जुध्नु परेपनि आफ्नो अध्ययन कार्यलाई खुम्चिन दिएनन् । फलस्वरूप२०१२ सालमा शास्त्री परीक्षा उत्तीर्ण गरी २०१३ सालदेखि नै धरानस्थित पिण्डेश्वर विद्यापीठमा अध्ययन कार्यमा आबद्ध भई निरन्तर रूपमा पढाउन थाले । समयको गतिसँगै उनमा रहेको व्यक्तित्वले प्रस्फुटन हुने अवसर पाउँदै गयो । अध्यापन कार्यका साथै साहित्य सर्जिनातर्फ पनि कवि भण्डारी अभिप्रेरित हुन थाले । संस्कृत साहित्यका धुरन्धर कालिदास, भवभूति, माघ, श्रीहर्ष र जगन्नाथको प्रभाव उनमा पर्दै गयो । 
        यसरी नै नेपाली साहित्यका कविहरू लेखनाथ, सोमनाथ, मोतीराम र कुलचन्द्र आदिबाट पनि उनी प्रभावित हुँदै छन्दोबद्ध कविता सिर्जना सुरु गरेका थिए (गोपालप्रसाद भण्डारीका अनुसार) । लेखनाथको कालो शार्षकको कविताबाट प्रभावित भई उनले उही छन्द, भाव र शैलीमा सेतो शीर्षकमा वि.सं. २०१६ मा नेपाल पत्रिकामा प्रकाशित गरेको पाइन्छ । यसरी साहित्य सिर्जनामा पहिलो प्रयासका साथै अध्यापन कार्यमा व्यस्त रहेपनि फुर्सतको समयमा साहित्य साधनामा लागिपरेको पाइन्छ । समयको अमूल्य मान्यतासँगै भण्डारीले आफ्नो अध्ययन क्रमलाई पनि निरन्तरता दिँदै आए । वि.सं. २०२० सालमा आचार्य परीक्षा द्वितीय श्रेणीमा उत्तीर्ण गरे, यो नै उनको उपलब्धिपूर्ण कार्य मानिन्छ । त्यसपछि उनी पूर्ण रूपमा प्राध्यापन पेशामा संलग्न भई जिज्ञासु स्वभावलाई मेटाउँदै प्रसिद्धि र लोकप्रियताका साथ अघि बढ्दै गए । साहित्य सिर्जना गर्ने इच्छा उनमा प्रबल रूपमा जागृत हुँदै गयो र यसतर्फ समर्पित बन्दै पनि गए । खास गरेर पद्यशैली वा छन्दोबद्ध कवितामा उनले कलम चलाए किनकी गद्य कनिवतामा भने उनको खास रुचि थिएन । वि.सं. २०१६ मा साहित्य सिर्जनाको श्रगिणेश गरी निरन्तर नेपाल, पीपल, स्पन्दन र प्रतिमा आदिपत्रिकाहरूबाट प्रशस्त फुटकर कविताहरू प्रकाशित गरेको पाइन्छ ।                (गोपालप्रसाद भण्डारीका अनुसार)   
         कवि भोग्यप्रसाद भण्डारीले साहित्यिक सिर्जना गर्ने क्रममा विभिन्न मोड र प्रकृतिका आधारमा गरेको भने पाइँदैन । सबै अभ्यासहरू एकैचोटी सम्भव थिएनन् तसर्थः विषयवस्तु र स्थान विशेषलाई आधार मानी कृतिहरू रचना गरेको पाइन्छ । यस आधारमा भण्डारीको साहित्य साधनाको समयचक्रलाई पूर्वाद्र्ध र उत्तराद्र्ध गरी दुई भागमा विवेचना गनु सान्दर्भिक हुन्छ । 

भण्डारीकृत षडानन्दचरित महाकाव्यका केही सुललित पङ्किहरु–


जस्तो परेपनि खप्ने यो मनुष्य शरीर हो ।
ऐया आत्थो गरी कस्को त्यसै दुःख गराउँथ्यो ।।


नबुझेर हटे धेरै छात्र मुस्किल सम्झिँदै ।
षडानन भने जागे घिउले अग्नि तुल्य भै ।। 

यसरी कति शासकै पनि,
गुरुका संगतले गुणी बनी ।
      जनता बीचको कुरीति यो,
     सहसा दास सती प्रथा हट्यो ।।

त्यै शिक्षा शुद्ध निष्ठार्थित हृदयबिषे भक्तिले योग लेया,
       तत्वज्ञानी हुनामा सरल सरल हो वैदिकी कर्मनिष्ठा ।
  एसैलाई जगाउँ यही छ सुख सबै शारदी चन्द्रमा झैँ,
  देला आनन्द सारा दुःखहरू तृृणमा नाशला अग्निले झैँ ।।

 

पूर्वार्द्धः

          कवि भण्डारीको साहित्य साधनाको समयचक्रलाई हेर्दा वि.सं. २०१६ देखि २०३५ सालसम्मलाई पूर्वाद्र्ध र त्यसपछिको समलाई उत्तराद्र्ध मान्न सकिन्छ । यो अवधिमा भण्डारीले आफ्नो कवित्वलाई निरन्तर काव्य साधनामा लगाएको देखिन्छ । वि.सं. २०१६ देखि काव्य साधना थालेका भण्डारीको यो समय अति लगनशील र मेहनतका साथ कविता संरचनाको अभ्यासमा बितेको देखिन्छ । यही समयमा भण्डारीले धेरै फुटकर कविताहरू रचना गरेको तथा आफ्नो साहित्यिक व्यक्तित्वलाई परिपक्व बनाउँदै लगेको पाइन्छ । पूर्वाद्र्धमा विविध प्रकारका थुप्रै कतिाहरू प्रकाशित भएपनि सिंगो काव्यकृतिको रचना गरेको भने पाइँदैन । यो अवधिका कविताहरू परम्परागत तथा शास्त्रीयवादलाई आत्मसात् गर्दै कविले संस्कृत परम्पराको अनुशरण गरेको पाइन्छ । 
           कवि भण्डारीमा आसुकविका लक्षण सिर्जनशील प्रतिभा रहेपनि प्रतियोगितात्मक रूपमा आफूलाई चिनाउने गरेको भने पाइँदैन । कवि भण्डारीमा निन्दनीय संस्कारको प्रभाव नरहेकाले काव्य रचनाको मोलतोल गर्ने प्रथा अरुचिकर रहेको कुरा बुझ्न सकिन्छ । धरानस्थित गीतामन्दिरका प्रवचनका बिषयवस्तुलाई तुरुन्तै अनुष्टुप छन्दका कवितामा रूपान्तरित  गरिदिन्थे । उनका सहज प्रतिभामय कवित्व क्षमतालाई नियाल्दा शास्त्रीयवाद नियमबाट विचलित हुँदै कतै–कतै स्वच्छन्दवादी भावधारामा बतासिएको  पाइन्छ । उनी प्राचीन वैदिक र पौराणिक पूर्णतः अनुयायी थिए भन्ने छनक उनका प्रत्येक रचनामा  पाइन्छ । पूर्वाद्र्धमा कविले कुनै उल्लेखनीय कृतिको रचना गरेको नपाइएकाले यो अवधि उनको साहित्य अभ्यासमा नै बितेको देखिन्छ । मूलतः भण्डारीको घरायसी र पारिवारिक व्यवहारमा नै रुमलिएका कारणले पनि यो समयमा उनका सिंगो काव्यकृतिको जन्म नभएको   हुनसक्छ । अर्को कुरा उनमा साहित्य केवल आत्मसन्तुष्टीको माध्यम लाग्ने गरेको र आफ्ना रचनाहरू भरसक कसैलाई नदेखाउने पनि बानी थियो, जसका कारण लेखिएका रचनाहरू पनि प्रकाशनका क्रममा ढिला भएका हुन् कि भनी अनुमान गर्न सकिन्छ । समग्रमा कविको पूर्वाद्र्धकाल साहित्य–अनुशीलनका क्रममा नै बिते अर्थात् अभ्यासमै बिते भन्न सकिन्छ ।

  
उत्तरार्द्धः
        कवि भण्डारीको उत्तराद्र्धको समय पूर्वाद्र्धको तुलनामा निक्कै उर्वर र सिर्जनशील मानिन्छ । यस कालमा भण्डारीको कवित्वको परिमार्जित र परिष्कृत भैसकेको हुँदा यो समयमा विविध काव्यकृतिहरू सिर्जना गरेको पाइन्छ । यस अवधिमा कविले श्रीविष्णुमहिम्नस्तोत्र र गंगालहरीजस्ता उत्कृष्ट कृतिहरूको संस्कृतबाट नेपालीमा अनुवाद गरे भने महाकाव्य जस्तो महान् काव्य ग्रन्थको संरचना पनि यसै अवधिमा गरेको पाइन्छ । यही नै कालभित्र कविको दुईवटा खण्डकाव्य सिर्जना गर्नुका साथै अन्य कृतिहरू र फुटकर कविताहरूलाई जन्म दिएको पाइन्छ । यो अवधिमा उनको कवित्व–शक्तिले आसु–कवित्वलाई ग्रहण गरी धारा–प्रवाहमय शैलीमा विभिन्न कविता कृतिहरूको सिर्जना भएको   पाइन्छ । 
         ऐतिहासिक महाकाव्य षडानन्दपनि उत्तराद्र्धको प्रारम्भमा लेखिएको हुनाले यो समय अत्यन्त महत्वपूर्ण मानिन्छ । गेयरामायणलोकलयमा रचिएको उत्तम लोककाव्य पनि भण्डारीले यही समयमा गरेका हुन् । यो काव्यमा आफ्नै भाषशैली, भाव र लयले सजाएर कविले पठनीय र मननीय बनाएका  छन् । यसै सन्दर्भमा धरान नगरीलाई बिषयवस्तु बनाएर धराननामक खण्डकाव्यको पनि रचना गरेका छन् । यो काव्यलाई उनको नितान्त मौलिक काव्य मान्न सकिन्छ । धरान खण्डकाव्य राष्ट्रवादी भावनाले पूर्ण भएको हुँदा यसले छुट्टै वैशिष्ट्यको परिचय दिलाउँछ । समग्रमा उत्तराद्र्ध कालमा कवि भण्डारीका काव्यकृतिहरू प्रकाशित भएकाले पनि यो समय कविता काव्य सिर्जनाको उर्वर समय मान्न सकिन्छ ।
          उत्तराद्र्ध कालको सुरुवातबाटै रचना थालिएको षडानन्दचरित महाकाव्यको पूर्णता भने २०४३ सालमा हुनपुगेको देखिन्छ । महाकाव्य जस्तो विशालकाय ग्रन्थ आफैमा महान् हो भने अर्कातिर यसका नियम र विशेषताहरू आफ्नै किसिमका रहेका हुन्छन् । महाकाव्योचित गुण र लक्षणहरू महाकाव्यमा हुनु जरुरी हुन्छ । गुण र रीतिको अभाव भएमा त्यो महाकाव्य कोटीमा नआएर अन्य केही हुन्छ । त्यसैले जसले पायो उसले महाकाव्य रचना गर्न सक्दैन । गम्भीर र भावुक शैलीमा कविता रचना गर्न सक्ने व्यक्तिले मात्र महाकाव्यको रचना गर्न सक्छ ।  यसका निम्ति गहन अध्ययन, चिन्तन र मननको आवश्यक पर्दछ । केही अभ्यास र केही प्रतिभाबाट मात्र कुशल कान्यको रचना हुनसक्छ । लगनशीलता र अभ्यास आवश्यक पर्छ । कवि भोग्यप्रसाद भण्डारीमा यी सबै गुणहरू थिए, जसका कारण षडानन्दचरित महाकाव्यको रचना हुनपुगेको हो ।  शास्त्रीयतावादको आधिक्य र स्वच्छन्दतावादी प्रवृत्ति यिनका काव्यमा विशेष गरेर षडानन्दचरित महाकाव्यमा झल्केको देखिन्छ । छन्द, अलंकार, गुण समायोजन यिनका काव्यमा पाइने विशेष पक्ष हो ।  
        समग्रमा कवि भण्डारीको यो अवधि अत्यन्तै उर्वर, विकसित र सिर्जनशील  देखिन्छ । कविमा प्रगतिशील भावनाको पनि यसै समयमा विकास भई साधनोन्मुख भएको पाइन्छ । अविछिन्न रूपमा जीवन र जगतको प्रगति, उन्नति वा श्रीवृद्धि हुनुपर्छ भन्ने भावनाको पनि विकास भई क्षणिक जीवनमा अमर र उदाहरणीय काम गर्नुपर्ने मानसिकता कविले काव्यमार्फत जगजाहेर गरेका छन् । नेपाली साहित्यको भण्डारणमा इँट्टा थप्ने काम कविले उत्तराद्र्ध कालमा नै गरेका छन् भने कविको जीवनमा पनि यो समय फलदायी बन्न सकेको देखिन्छ । अतः उत्तराद्र्धकाल कविको सफल कालखण्ड बनेको देखिन्छ ।


निष्कर्षः
          कवि भोग्यप्रसाद भण्डारीमा विभिन्न प्रकारका व्यक्तित्वलाई उजागर गर्दै अन्तर्निहीत प्रतिभा प्रस्फुटन भएको पाइन्छ । बहुमुखी प्रतिभाका धनी कवि भण्डारीलाई चिन्न उनका काव्यकृतिहरू र सम्पूर्ण जीवनको अध्ययन गर्न जरुरी हुन्छ । प्राध्यापन पेशामा निरन्तर रूपमा आबद्ध भएतापनि फुर्सतको समयमा अन्य विधा र क्षत्रमा पनि उत्तिकै योगदान दिँदै आउने भण्डारीको जीवन अत्यन्त परिश्रमी र संघर्षशील रहेको पाइन्छ । निरन्तर कर्तव्य परायण हुँदा चर्चायोग्य ठहरिएको छ  । कवि भण्डारीले नेपाली साहित्यमा श्रीवृद्धि गरेको पाइन्छ । साहित्यिक क्षेत्रमा अविस्मरणीय योगदान दिँदै साहित्यकै माध्यमबाट नेपाल आमाको  निष्कपटपूर्ण सेवा गरेका छन् । यसरी नश्वर जीवनमा केही अमर तथा उदाहरणीय कार्य गर्नु सबैभन्दा उत्तम ठान्ने भण्डारीले साहित्यको सेवा गरेर आफूलाई अमर बनाउने कोशिस गरेका छन् । जीवनका हरेक आरेह–अवरोहसँग कति पनि विचलित नहुने भण्डारीले अधिक कठिनाई र समस्याका बाबजुत पनि आफूलाई विभिन्न व्यक्तित्वको रूपमा स्थापित गरेका छन् । जीवन क्षणिक छ, तर अमूल्य छ, यही अल्प  र महत्वपूर्ण जीवनलाई सत्कर्म र उपयूक्त कार्यमा नै लगाउनु पर्छ भन्ने मानवीय चेतनाले अभिप्रेरित भएका कवि भण्डारीले आफूलाई सत्कर्ममा समर्पित गरेको पाइन्छ । भण्डारीको व्यक्तित्वलाई विङ्गगम दृष्टिले अध्ययन र अन्वेषण सफल र सबल व्यक्तित्वका कोटीमा उभ्याउन सकिन्छ । 
        यसरी उपयुक्त चर्चाका आधारमा कवि भोग्यप्रसाद भण्डारी बहुआयामिक तथा सफल व्यक्तित्वका धनी थिए । अन्य व्यक्तित्वका तुलनामा भण्डारी पनि उच्च व्यक्तित्वको रूपमा अविस्मरणीय बनेका छन् ।   
 रोग र देहावसान ः
       अन्त्यका लागि सुरु भएझैँ सृष्टि विनाशका लागि नै हुन्छ । प्रत्येक प्राणीको जन्मपछि मृत्यु निश्चित छ । मानिसको जन्मपछि मृत्युलाई स्वभाविक र अपरिहार्य   मानिन्छ । त्यसैले यो प्रक्रियालाई कसैले रोक्न, छेक्न र वशमा पार्न असंभव छ । यदि मृत्यु मानिसका नियन्त्रणमा हुने भए असल र लोकप्रिय व्यक्तिलाई छाडेर खराब खराब मानिसलाई अन्त्य गराउँथे होला, तर यसो न भएका हुनाले धनी गरीब र ठूला साना कालले छुट्याउँदैन । साधारण मृत्यु जो खरानीसँगै विलीन हुन्छन् भने, जसले यस धर्तीमा अनन्त कालसम्म प्रेरणा र विविध प्रकारका सन्देश छोड्दै प्रातः स्मरणीय बनेका हुन्छन् विशेष मृत्यु हुनेहरूमा यस्ता व्यक्ति पर्दछन् । यीमध्ये कवि भण्डारीको अवसान विशेष रूपमा गरिन्छ, किनकी कवि भण्डारीले सन्देशमूलक प्रेरणाहरू यही माटोमा छोडेर गएका छन् । 
        कवि भण्डारीले आफ्ना जीवनमा धेरै अविस्मरणीय र अनुकरणीय कार्यहरू गरेका छन् । गम्भीर, दृढ प्रतिभा र सहनशीलताले थालेका कामलाई पूरा गरेरै छोड्थे, यसबाट उत्तम प्रकृति व्यक्तित्व मानिन्छन् । विभिन्न प्रकारका आरोह–अवरोह, उज्याला र अँध्यारा पाटाहरूलाई छिचोल्दै आएका कविको जीवनमाथि पनि अपरिहार्य आधिपत्य नजमाई रहेन । परन्तु उनको ६८ बर्षे जीवनकालमासमाज राष्ट्र र परिवारलाई धेरै गुण लगाएका छन् । वि.सं. २०१३ सालदेखि २०५१ सम्म झण्डै  ४० बर्षको शिक्षण सेवाबाट समाज सेवामा समर्पित भएको देखिन्छ । 
        कविले धार्मिक र सामाजिक संघ—संस्थामा संलग्न भई सेवादायी बनेर कार्य गरेको देखिन्छ । समाजसेवामा आफ्नो जीवन अर्पण गर्ने व्यक्ति चिरञ्जीवी हुनुपथ्र्यो, तर परिस्थिति त्यस्तो रहेन । समयको गतिसँगै वि.सं. २०५३ सालदेखि भण्डारीलाई मधुमेहका साथै आन्द्रा र कलेजोमा निकै नहुने रोग क्यान्सरले आक्रमण ग¥यो । यता रोग पत्तालगाउन परिवारजनहरूले उनलाई बचाउनका लागि हरप्रयास गरेको देखिन्छ । उपचारका लागि स्वदेशका प्रायः अस्पताल पु¥याउनुका साथै भारतको सिलगुढी र बम्बैका अस्पतालसम्मपु¥याइयो । त्यसपछि डाक्टरको जाँचबाट क्यान्सरको टुङ्गो लागेपछि अब बचाउन असंभव रहेकाले पुनः कवि भण्डारीलाई घरै ल्याएको पाइन्छ । (गोपालप्रसाद भण्डारीका अनुसार) यसरी औषधी उपचारका साथै सामाजिक प्रचलनानुसार धामी झाँक्रीद्वारा पनि कविको मनलाई मानसिक रूपमा सान्त्वना दिने प्रशस्तै प्रयत्नहरू भएका देखिन्छन्, तर अकाट्य रूपमा प्रवेश गरिसकेको मृत्युले सबै निरर्थक सावित ग¥यो । वि.सं. २०५३ साल पौष १ गते अपराह्न ३ः४५ बजे नीज निवास धरान १६ बाट रामनामका साथ कवि भण्डारी सधैँका लागि बिदा भए । (गीतादेवी÷नारायण भण्डारीका अनुसार) आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ! भनेझैँ कालले टिप्यो अब उनले महानीर्वाण प्राप्त गरे । ६८ बर्षको उमेरमा यस संसारबाटबिदा भएपनि उनका सन्देश, प्रेरणा र अध्ययनशीलतालाई धेरैले अनुशरण गरिरहेको पाइन्छ । हामी बीच आज उनी नभएपनि उनका अनुकरणीय कार्यहरूले सम्झिरहन्छौँ । विशेष गरी उनका कृतिहरूले सम्पूर्ण मानवजगतलाई मार्गदर्शन र उत्साह–प्रेरणा प्रदान गरिरहने छन् । 

सन्दर्भः
भण्डारी, गोपालप्रसाद, सप्तकोशी प्रवाह (प्र.सं २०४७.) धरान 
रेग्मी, सोमनाथ २०६५, कवि भोग्यप्रसाद भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन (शोधपत्र) कीर्तिपुर 
पराजुली, पुष्प २०७५, षडानन्दचरित महाकाव्यको कृतिपरक अध्ययन (शोधपत्र) धरान 

तपाईको प्रतिकृया कस्तो छ?

like
4
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्