इलाम

खुलेर झट्टै जब घाम लाग्छ चियाचियामा कविता छरिन्छ ।

इलाम
श्रीअन्तु पस्किन्छ र घाम दिन्छ
हिमाल साँच्चै सुनमा उभिन्छ
दैलाे उघारेर बिहान खुल्छ
इलाममा स्वर्ग झरेर फुल्छ ।।१।।  
खुलेर झट्टै जब घाम लाग्छ
चियाचियामा कविता छरिन्छ ।
ओडेर घुम्टाे कुहिराे छपक्क
मानाैं यही हाे दुलही धपक्क।।२।।

ढुङ्गाहरू उत्तम देव देवी
माटाे फलेकाेसरि छैन केही
धारा कुवामा पिरती भरिन्छ
पाखा पखेरा सहले सुसेल्छ ।।३।।

चिया अलैंची अदुवा र आलु
गाई र भैंसी नगदे बढालु
छ पाैरखी जाँगरिलाे इलाम
हेरेर गर्छाै दुनियाँ सलाम ।।४।।

कान्ला करेसा वन कन्दरामा
छ औषधीकाे महिमै महिमा
जाे प्यारले हेर्छ इलामलाई
ऊ दृष्टिले चुम्दछ स्वर्गलाई ।।५।।

काेरी र बाटी चुलठी मिलाई
घुमेर बाटाे हिँड नागबेली
बिछट्ट राम्री कसले बनायाे?
देखेर द्याैता पनि हार खायाे ।।६।।

माटाे यही हाे जसमा म जन्में
यही धरामा उभिएँ म उफ्रें
यही धराकाे स्तनले अघाएँ
यही धरामा म जिएँ रमाएँ ।।७।।

छ स्वाभिमानी अभिमान छैन
हारेर बस्ने इतिहास छैन
लिएर जानू मनमा इलाम
संसार फैलाेस् यसकाे सुनाम ।।८।।



-टीका आत्रेय

तपाईको प्रतिकृया कस्तो छ?

like
17
dislike
0
love
1
funny
2
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्