देव्यपराधस्ताेत्रम् नेपाली भावानुवाद

न मुद्रा पैल्याएँ, स्तवन न गरेँ, मन्त्र न सुनेँ कथावार्ता, आवाहन न त सिकेँ, यन्त्र न चिनेँ

देव्यपराधस्ताेत्रम् नेपाली भावानुवाद

 कवि मुकुन्द शर्मा

काठमाण्डाैँ । 


न मुद्रा पैल्याएँ, स्तवन न गरेँ, मन्त्र न सुनेँ
कथावार्ता, आवाहन न त सिकेँ, यन्त्र न चिनेँ
अहो आमा रोएँ न त चरणमा, ध्यान न भयो
फगत् जानेँ तिम्रो पछिपछि हिडे सङ्कट गयो ||१||


नजान्नाले केही, नियम नलिनाले पनि कति
स्वयं अल्छी बन्दा पनि, धन नपाएपछि कति
भयो गल्ती, सच्याउन अघि सर्यौ हत्पत यतै
कुमाता के होलिन् कुतनय भए तापनि कतै ? ||२|

सयौं छोरा तिम्रा अति सरल होलान् भुवनमा
तिनैमध्ये यौटा अति चकचके पो छु म यहाँ
मलाई लत्यायौ ? अनुचित भयो यो त बहुतै
कुमाता के होलिन् कुतनय भए तापनि कतै ? ||३||


जगत्की हे आमा ! पदकमलमा ढोग न गरेँ
न ता केही चन्दा दिइकन गुठीमा धन भरेँ
सबै जान्दा जान्दै पनि दिइरह्यौ स्नेह बहुतै
कुमाता के होलिन् कुतनय भए तापनि कतै ?||४||


पचासी वर्षैको म छु, अझ उता नै गइसकेँ
गरेँ धेरै देवार्चन, अब नसक्ने भइसकेँ
तिमी छ्यौ हे विघ्नेश्वरजननि ! आलम्बन यहाँ
दया केही मेराउपर नगरे जानु म कहाँ ? ||५||


सुन्यो जल्ले नामाक्षर सहितको मन्तर कहीँ
हओस् त्यो चाण्डालै अझ बकबके बर्बर उही
महैमा घोलेको सरि बहुत मीठो वचनले
मजासाथै बस्ला घर पनि भराएर धनले||६||


लटा पाली, माला विषधरसितै खप्पर, चिता—
खरानीले ढाकी जिउ, सँगसँगै भूत—रमिता
शिवे ! नाङ्गै नाच्ने पशुपति महादेव गनिए
जसै तिम्रो स्यूँदोभरि सिँदुर हाली पुरिदिए||७||


न पैसाको धोको, न त भुटभुटी मुक्त हुनको
न मौजी बन्नाको, न त लहड विज्ञान लिनको
मलाई हे आमा ! अब फगत यौटै रहर होस्
मृडानी रुद्राणी शिव शिव भजी जीवन चलोस्||८||

रूखो विचार छ सदा मुखले अघोरी
पूजा गरेँ न गतिला सरजाम जोरी
पग्ल्यौ अनाथ छ भनेर ममा दयामा
तिम्रो स्वभाव अनुसार ठिकै छ आमा !||९||

दुर्गे ! दयासिन्धु ! विपत्तिधारा—
भित्रै डुबेको छु गरेँ पुकारा
ठिकै त हो सन्तति भोकप्यास
लाग्यो भने आउँछ माउपास ||१०||


म झैं पापिष्ट को होला ? तिमी झैं पापनाशिनी ?
यस्तो जानेर हे देवी यथायोग्य गरे तिमी ||११||

-------

तपाईको प्रतिकृया कस्तो छ?

like
2
dislike
0
love
0
funny
0
angry
0
sad
1
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्