बिन्तीपत्र

छन्द कविता

बिन्तीपत्र

                        बिन्तीपत्र
                        
तिम्रा सामु जदौ गरेर अहिले बिन्ती गरेँ ख्वामित !
रित्तो पेटसिवाय आज घरमा क्यै छैन हामीसित ।।
आएको छ समाजवाद अहिले भन्छौ तिमीले तर,
तिम्रा सन्तति बस्दछन् महलमा, भोको छ हाम्रो घर ।।


जाबो साबुनले ठुलो कवचको भारी उठायो यहाँ ।
रक्सीले पनि सेनिटाइजरको सम्मान पायो यहाँ ।।
भेडाझैँ जनता थुनेर घरमा के काम गर्छौ ? भन ।
रोगीको उपचार हुन्छ कसरी ? खै आइसोलेसन ?


सत्ताको मदमा अजिङ्गर सुत्यो, ब्यूँझिन्छ के कामले ?
मार्छन् रावण-कुम्भकर्ण कहिले नेपालका रामले ?
पीसीआर गरे सकिन्छ ढुकुटी भन्छन् प्रवक्ता तर,
अर्बौं आउँछ सर्प पाल्न कसरी नेताहरूको घर ?


काँडा च्वास्स बिझ्यो कतै मुलुकमा, माटो बिरामी भयो ।
मैले बुझ्दिनँ, साम्यवाद कसरी पिर्के सलामी भयो ?
एसीभित्र बसेर सुन्छ कसले हार्नेहरूको कथा ?
छन् कार्पेट करोडका महलमा, भोकै छ मान्छे यता ।।


यो सिंहासनले बुझेर कहिले सुन्ला अरूका कुरा ।
सुन्छन् मख्ख परेर मौसुफहरू सम्धीहरूका कुरा ।।
तिम्रो दृष्टि अभावतर्फ कहिल्यै जाँदैन होला तर,
आँखाबाट समुद्र बग्छ नुनिलो, आऊ लगाऊ कर ।।

 गोविन्दगोपाल खतिवडा - देवघाटधाम

तपाईको प्रतिकृया कस्तो छ?

like
4
dislike
0
love
0
funny
0
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्