अर्थालङ्कारका भेदहरू

लुटाहाहरूको मजाको छ कूट  न अड्को न पड्को छ तेलै त धूप  । फलोस् या नफल्ला गरी छाड काम  झरे आँप, जाँदा झटारो छ जान  ।।

अर्थालङ्कारका भेदहरू

                                                                                                                         -चन्द्रप्रसाद न्याैपाने

                                                                                                                                  सिन्धुपाल्चाेक

अर्थालङ्कारका अनेकौँ भेद छन् । जसमा दृष्टान्त पनि एक हो । दृष्टान्तका अनेकौं उपभेदहरु छन् । जसमध्ये केही दृष्टान्तीय उपभेदका उदाहरण पेश गरेको छु । आवश्यक सल्लाह, सुझावसहित इच्छुक महानुभावले रसपान गर्नुहुनेछ भन्ने आशा लिएको छु । 
दृष्टान्त अलङ्कार अर्थालङ्कारको एक भेद हो । दृष्टिकोण वा विचारलाई तर्क, उदाहरणपूर्ण गरिने प्रस्तुति दृष्टान्त अलङ्कार हो । नीति–नियम, उपदेशात्मक काव्यमा दृष्टान्तको व्यापक प्रयोग हुने गर्दछ । तल केही दृष्टान्तालङ्कारहरूका उदाहरण हेरौं— 


दृष्टान्त–आक्रोसाभाव
अर्थालङ्कारअन्तर्गत पर्ने दृष्टान्त–आक्रोसभाव अलङ्कार हो । जुनसुकै परिस्थितिमा पनि अप्रामाणिक, अनिर्णित, विनाकामको कुरामा जिद्धि गर्दछ त्यसलाई आक्रोशित भावले जवाफ दिनु वा संकेत गर्नु, कुनै पनि विचार, वा व्यवहारप्रति आक्रोसित हुनुका भाव दृष्टान्त–आक्रोसभावले जनाउँछ । जस्तैः


आखिरी जित्छ के मान्छे प्राणीहत्या गरेर यो  
छेकिन्न छेकेर हेर, पञ्चतत्त्वसँगै छ जो ।

ए मान्छे, किन हो फुर्ती पाएको गति हो कति 
कहाँ जितिस् जगत्प्राणी चलेको बुझिस् के गति ।

धर्मको नाममा हामी जुध्छौँ, बाझ्छौँ बढी किन ? 
को फर्क्यो त पुगी स्वर्ग नमूना बन्न, देखिन ! 


दृष्टान्त–उखानोक्ति 
लोकले भन्दै आएको उक्तिलाई ‘लोकोक्ति’ वा उखानोक्ति भनिन्छ । यो अर्थालङ्कारमध्येको एक अलङ्कार हो । यसमा नेपाली उखानटुक्काका प्रशस्त प्रयोग गर्न सकिन्छ । लोकआहानलाई समेट्नु लोकोक्ति अलङ्कारका विशेषता हुन् । केही उदाहरणहरू यसप्रकार छन्ः


अर्काको आङमा देख्छ साना जुम्रा हिँडे पनि 
देख्दैन आङमा आफ्नो ठूलै भैंसी हिँडे पनि ।


अर्कालाई खने खाल्डो आफैँ पर्छ यता सुन
गरीबी र धनी मान्छे छुट्याउँदैन कानुन ।

आई लागे छ ए जाई के पर्नु व्यर्थमा वश
नहुने इख के मान्छे के सर्प नभए विष ।


आफ्नै आङ कन्याएर छारो उडेर हुन्छ र
बिराए डर हो लाग्ने नबिराए कहाँ छ र ।


आमाको ममताभित्र अदृश्य–दृश्य विश्व छ 
अरूको लाख होस् माया आमाको काख उच्च छ ।।
…….
होशीयारी हुनैपर्छ नबन्नू तर काँतर
ल्वाङभन्दा बढी स्वाङ पचेकोचैँ कहाँ छ र ।


हत्केलो जति नै निधार शिरमा राख्छौ भने राख ए
के छेकिन्छु र सूर्य हूँ प्रिय मनू ! सक्छौ उँभै हेर ए ।
जान्दैनौ कति नाच्न आँगन भयो टेडो घुम्या पुच्छर
थुक्छौ थुक्क ममा छिटा भन कता ए बुद्धिका दुर्बल ।। 


गाई कुद्दछ भीरमा यदि भने लड्ला भनू– “राम ए”
भन्दैनौ किन, तथ्य के छ यसमा “थापूँ गई काँध ए”
“कान्छोबाउ दुरुस्त देख्छु मुख रे” मारी स्वयम् बाँदर
ती तिम्रा श्रम व्यर्थ बन्दछ भने कर्मैविना आँ ! गर ।।
…..
अगुल्टो नझोसी बलोस् के भनिन्छ 
गरे आँ अलङ्कार बुझ्ने गरिन्छ ।

म चैँ ताक्छु मूढो घुँडो वञ्चरो त
उखानेहरूको जमातै दरो छ ।।

लुटाहाहरूको मजाको छ कूट 
न अड्को न पड्को छ तेलै त धूप  ।
फलोस् या नफल्ला गरी छाड काम 
झरे आँप, जाँदा झटारो छ जान  ।।

……


दृष्टान्त–करुणाभावालङ्कार
अर्थालङ्कारअन्तर्गतको दृष्टान्त–करुणाभावालङ्कार दया, विवेक, करुण, कठै, विष्मय आदि करुणादि भाववाचीय अदृश्य कारुणिक, दारुणिक भावना उत्पन्न गराउने एक अलङ्कार हो । जस्तैः


कठ्याङ्ग्रिँदै थियो रात चरी बोली उसैगरी 
हल्लियो रुख के आयो उड्यो गुँड भुसैसरि ।


कसरी कसरी बाँचेँ खानै पाएँ न लाउन  
मेरै निम्ति बगेजस्तै धमिलो भेल साउन ।


टेक्न साँझ उनी आइन् घरबाहिर आँगन
ल्याएकी छु दिनैनिम्ति प्यारा, मुस्केर माग न ।


रोइरहेछ हा ! विश्व कारुणका अलापमा
उदासीन वसन्तीझैँ चिर्चिरीका विलापमा ।


हिँड्दामा ठोकिए कोही तानीदेऊ सकेजति 
प्राप्तिचैँ कर्ममै फल्छ चाहिएजति ओखती


दृष्टान्त–दृश्यालङ्कार
अर्थालङ्कारभेदअन्तर्गत पर्ने कुनै पनि समस्याको प्रत्यक्ष देखिने दृश्यको उदाहरणबाट पुष्टि हुने  दृष्टान्त–दृश्यालङ्कार हो । जस्तैः

 
छोटो हुन्छ सधैँ छोटो लम्ब्याऊँ लम्बियोस् किन
भेल अड्दैन सुर्कामा पाटै चाहिन्छ फैलिन ।


रूप भिन्न गरी चढ्छ, ‘बनी बादल’ तर्क हो 
चढ्छ मान्छे नदी झर्छ दृश्यमा छ यथार्थ जो ।


कस्तो हुन्छ त मैदान भन बाबू हिमालचैँ
सम्मै हुन्छ नि ! मैदान उचाइ छ हिमालचैँ ।


दृष्टान्त–नैतिक
नैतिक दृष्टान्त अर्थालङ्कारको एक भेद हो । अनुशासन, नित्य कर्म, नीतिनियम धर्म संस्कार, व्यायाम कानून, न्यायिक चेतना, व्यवहार आदि कुराहरूको प्रतिनिधित्व नैतिक दृष्टान्त हो । हरेक कुराको नीतिलाई नैतिकवान बनाउने जिम्मेवारी नैतिकताले गर्दछ । जस्तैः

 
अर्थमा शब्दले जुक्ति पाएमा खेल्न युक्तिले 
शक्तिमा भक्ति लाएझैँ स्थान पाउँछ सूक्तिले ।


उपकार कहाँ गर्ने ? अवस्थामा बुझे भयो 
सर्प पालेर के काम गाई पाले भलो छ हो !

नगरी कर्मको खेती पुष्ट सन्तुष्ट हुन्छ को 
नछरी भूमिमा बीज अङ्कुराउन्न पुष्प त्यो ।


दृष्टान्त–प्रेमभावालङ्कार
अर्थालङ्कारअन्तर्गतको दृष्टान्त–प्रेमाभावालङ्कार माया, मोह, प्रेमादि आदि भाववाचीय अदृश्य प्रेमिल भावना उत्पन्न गराउने एक अलङ्कार हो । जस्तैः


कर्ममा सिर्जना फुल्न चाहना तुन्नु पर्दछ 
भावना शुद्धता बुन्न मायाले उन्नु पर्दछ ।


सूर्यको तेजमा हैन उज्यालो मनमा छ ए !
दृष्टिविहीनमा सोध प्रेमी आँखा कहाँ छ रे ? 


त्यता घाउ आए यता बल्झिने छु
भए पात डाली म ता हल्लिने छु
बनेमा घना झन् छिटा वर्षिने छु
जहाँ फूल फुल्छ्यौ त्यहीँ फक्रिने छु  ।।


दृष्टान्त–विपरीतभावालङ्कार  
अर्थालङ्कारअन्तर्गतको विपरीतावलङ्कार विपरीतार्थ भावको उत्पन्न गराउने एक अलङ्कार हो । यसले एउटै वर्ग शृङ्खलामा कुनै पनि अवस्था, परिस्थितको भिन्न रुप जनाउने विरतीतभाव वा अर्थ जनाउ देखाउँछ । जस्तैः


उखानै छ बलेको नै आगो तापिन्छ भर्खर
निभेको छ अगुल्टो जो दिने तातो छ के भर ।


औषधी रोग खोज्नेले सास्ती नै मात्र पाउँछ
तर सित्तैं दुनियाँचैँ आफ्नै ठानी लगाउँछ ।


झट्टी साउनमा फाल्या माघमा काम आउँछ
महत्व काठकै हेर, कसरी दिन पाउँछ ?

नङ–मासु मिलेका छन् छुट्टिदैन कतै कति  
तर फोहरकै भारी बस्दछन् कापमा त्यति ।


रूप सुन्दर के हुन्छ दह्रो चाहिन्छ आँत नै
सुनको बन्छ कोदाली तर खन्दैन खेत चैँ


दृष्टान्त–व्यङ्गालङ्कार
अर्थालङ्कारअन्तर्गतको दृष्टान्त–व्यङ्गालङ्कार एक भेद हो । कुनै पनि परिस्थिति, घटनाले हास्यात्मक दृश्य देखाउँछ भने त्यसलाई व्यङ्गात्मक रुपमा प्रस्तुति दिने दृष्टान्त–व्यङ्गालङ्कार हो । जस्तैः


कि खान्छ आँटले भन्छन् खान्छ रे कि त ढाँटले 
जस्तै संकट होस्, भ्रष्ट कहाँ रोकिन्छ जाँचले ।


जोडे ‘लाई’ दुई–चार तोडे लाइक बाह्र छ
जोड्ने–तोड्नै दुवैभन्दा अझै ‘कमेण्ट’ प्यार छ ।


झोलीको तुनुमा गाँठो ओलीको फुकुवासँग
लोलीको टोलमा लाए काव्यका चँदुवा रङ ।


नमास्नू धर्म संस्कार मेरा बा भुत्भुताउँथे 
आजै काम्रेड भेटेको के को हात मिलाउँथे ।

शङ्काले पिट्दथ्यो लङका खुईल्याएर ती कुरा 
अम्रिका चीनको शङ्का गर्दछन् आजका भुरा ।


दृष्टान्त–सत्य (सत्यालङ्कार) 
अर्थालङ्कारअन्तर्गतको दृष्टान्त–सत्य (सत्यालङ्कार) पनि एक भेद हो । कुनै पनि परिस्थिति, घटना, दृश्य, वस्तुमा परेको प्रत्यक्ष दृष्टिभाव नै दृष्टान्त–सत्य हो । दृष्टान्त–सत्य (सत्यालङ्कार)ले जस्ताकोतस्तै हेरफेर नहुने भन्ने भावको प्रतिनिधित्व गर्दछ । जस्तैः


उक्लने किन ओर्लन्छ जस्तै देऊ दवाव ओ 
उँभै जान्छ सकेसम्म ओर्लदैन धुवाँ उँधो । 


खन नित्य कुटाले नै नढल्ने छन् पहाड खै 
पग्लेकै छ नि गाल्दामा जस्तै कडा फलाम नै ।


खोंचे थापी कहाँ हुन्छ, जता पायो त्यहीँ तर
थापी हेर भँगालोमा मिल्छ माछा भयङ्कर ।


गोटीका खेलमा हेर, हात्ती घोडा ढलाउँछ 
राजा मन्त्री जता जो हुन् सिपाही नै चलाउँछ ।


बस्दछन् पोटिला काव्य उड्दछन् हलुका भए 
भुस चामल छुट्टिन्छन् नाङ्लाको फाँचमा परे ।


मान्छेको नाकमा मात्र सिनो ठुस्स गनाउँछ
गिद्दकानिम्ति के भो र खानै हो, मग्मगाउँछ !

- न्याैपाने सिन्धुपाल्चाेकमा रही नेपाली छन्द कविताकाे साधना गर्नुन्छ । साहित्यमा शास्त्रीय परम्परा बारे समालाेचना पनि गर्नृहुने न्याैपानेका बृहत्तर महाकाव्य चन्द्रयुगलगायत दर्जन बढी कविताकृतिहरू प्रकाशित छन् ।  

तपाईको प्रतिकृया कस्तो छ?

like
5
dislike
0
love
0
funny
1
angry
0
sad
0
wow
0
विज्ञापनक्षेत्रम्
विज्ञापनक्षेत्रम्